काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा मुछिएका थप ६ जना कर्मचारीको सरुवा गरेको छ । योसँगै सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट आजै गृह मन्त्रालयले दुई चरणमा कर्मचारीहरुको सरुवा गरेको हो ।
आज दुई चरणमा १४ जना र यसअघि उपसचिव तीर्थराज भट्टराईसहित गरेर १५ जना कर्मचारीलाई सरुवा गरिएको हो।
भट्टराईलाई ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ।
भिजिट भिषा प्रकरणबारे गृहमन्त्री रमेश लेखकले चाल पाउने बित्तिकै भट्टराईलाई जेठ ६ गते नै गृहमन्त्रालयमा तानेका थिए ।
अख्तियारले अहिले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा पठाइसकेको छ।
भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरहरुको आज पहिलो चरणमा सरुवा भएको थियो ।
आज सरुवा हुने नायब सुब्बाहरुमा प्रेमप्रसाद पौडेल, वीरभद्र जोशी, नरबहादुर थापा, सुबराज श्रेष्ठ, दत्त लामा, गोविन्दप्रसाद अधिकारी, तेजराज गौतम, सुवास केसी र कुवेरप्रसाद दाहाल रहेका छन् ।
पौडेल र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं, थापालाई जिप्रका बाँके, श्रेष्ठलाई जिप्रका, सिन्धुपाल्चोक, लामालाई जिप्रका जाजरकोट, अधिकारीलाई जिप्रका गोरखा, गौतमलाई जिप्रका बाग्लुङ, केसीलाई जिप्रका रुकुमपश्चिम र दाहाललाई जिप्रका धनकुटा सरुवा गरिएको छ ।
त्यसैगरी कम्प्युटर अपरेटरहरु उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठको पनि सरुवा भएको छ ।
कम्प्युटर अपरेटरहरू सबैलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।