काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाइएको भन्दै बालेन सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा आइपुगेको अवस्थामा पनि नेपाली उपभोक्ताले पुरानै महँगो मूल्यमा इन्धन किन्न बाध्य हुनु अन्यायपूर्ण भएको बताएका हुन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउनुपर्ने भए पनि नेपाल आयल निगमले विभिन्न प्राविधिक बहाना देखाएर मूल्य समायोजन नगरी नागरिकलाई अनावश्यक आर्थिक भार बोकाइरहेको छ।
महामन्त्री पौडेलले निगमले ‘हामी कच्चा होइन, प्रशोधित तेल किन्छौँ, त्यसैले मूल्य तुरुन्तै घट्दैन’ भन्ने तर्क दोहोर्याउँदै आएको उल्लेख गर्दै त्यसलाई स्वीकार्न नसकिने बताएका छन् ।
प्रशोधन लागत र केही समयको अन्तर स्वाभाविक भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले प्रशोधित तेलको लागतसमेत घट्ने तथ्य स्पष्ट रहेको उनको भनाइ छ।
उनले यति लामो समय बितिसक्दा पनि वास्तविक मूल्य घटेको जानकारी सार्वजनिक नगरी पुरानै तर्क दोहोर्याउनु पारदर्शिताको अभाव र उपभोक्तामाथिको अन्याय भएको आरोप लगाए।
पौडेलले यसले सरकार र नेपाल आयल निगमभित्र सुशासनको कमी, व्यवस्थापकीय कमजोरी तथा पारदर्शिताको अभाव उजागर गरेको दाबी गरेका छन्। उनले स्वचालित मूल्य प्रणाली मूल्य बढ्दा मात्र होइन, घट्दा पनि समान रूपमा लागू हुनुपर्नेमा जोड दिए।
'निगम घाटामा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर सहयोग गर्ने, तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रतिफल नपाउने अवस्था न्यायसंगत हुन सक्दैन,' उनले भनेका छन् । त्यसैले उनले स्वचालित मूल्य प्रणालीलाई पूर्ण पारदर्शिताका साथ तत्काल कार्यान्वयन गर्दै इन्धनको मूल्य पुनरावलोकन गर्न सरकार र नेपाल आयल निगमसँग माग गरेका छन्।