काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
सोमबार उनले सामाजिक सञ्जालमार्फत काठमाडौं ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना १४ बुँदै प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
आफूले २०७९ सालमा सांसदका रूपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको भन्दै पौडेलले रिङरोड दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुसी टोखा सडक, विष्णुमती करिडोर, साङ्लेखोला करिडोर लगायतका रणनीतिक काम अघि बढेको उल्लेख गरेका छन्। उनले मेलम्ची खानेपानी रिङरोड बाहिर विस्तार तथा नयाँ लाइन निर्माणका कामसमेत भएको उल्लेख गरेका छन्।
पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कूल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी तथा तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ। सार्वजनिक निजी साझेदारीमार्फत विद्यालयहरूमा प्रविधिमैत्री अध्ययनको वातावरण तयार गर्न सम्बद्ध पक्षसँग सहकार्य गरिने उनको प्रतिबद्धता छ।
उनले सबैलाई स्वास्थ्य बिमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरासमेत वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताएका छन्।
साथै पौडेलले क्षेत्र ५ लाई मेडिकल हबका रूपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरूको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
pratigyapatra-pradip-poudel.pdf :To download file click here