Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रास्वपालाई बाबुरामको चेतावनी - प्रदेशसभा खारेजीको एजेन्डाले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्छ

रास्वपालाई बाबुरामको चेतावनी - प्रदेशसभा खारेजीको एजेन्डाले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्छ

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजी र संघीयता कमजोर बनाउने एजेन्डाबाट पछि हट्न आग्रह गर्दै सुशासन र विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

रास्वपाले प्रथम महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने तथा संघीय संरचनामा पुनर्विचार गर्ने निर्णय गरेको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै डा. भट्टराईले यस्तो कदम मुलुकका लागि ठूलो राजनीतिक भूल हुन सक्ने चेतावनी दिएका हुन्।

उनले रास्वपाको सम्भावित निर्णयप्रति दुई आधारमा गम्भीर आपत्ति जनाएका छन्। पहिलो, विधिको शासनको दृष्टिकोणबाट संविधान संशोधनका लागि सरकारले कार्यदल गठन गर्ने तर अर्कोतर्फ पर्याप्त राष्ट्रिय सहमतिविना आफ्नै निर्णय अघि बढाउने प्रयास गर्नु विरोधाभासपूर्ण हुने उनको भनाइ छ।

भट्टराईका अनुसार यस्तो कदमले राजनीतिक दल, विभिन्न समुदाय र आम नागरिकबीच विश्वासको गम्भीर संकट सिर्जना गर्न सक्छ, जसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने जोखिम रहन्छ।

दोस्रो, उनले नेपालजस्तो जातीय, भाषिक र क्षेत्रीय विविधता भएको देशमा लामो राजनीतिक संघर्ष र व्यापक सहमतिपछि संघीय व्यवस्था स्थापित भएको स्मरण गराएका छन्। निर्वाचित संविधानसभाले स्वीकार गरेको संघीय संरचनालाई हतारमा भत्काउने प्रयास गरिए त्यसले गम्भीर जातीय तथा क्षेत्रीय तनाव निम्त्याउन सक्ने उनको चेतावनी छ।

रास्वपालाई लक्षित गर्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा अधिकतम राष्ट्रिय सहमति नबन्दासम्म विवादास्पद एजेन्डाभन्दा सुशासन, सेवा प्रवाह र विकासमा केन्द्रित हुन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल ‘चुपचाप सुशासन र विकास’ तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी !'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077