Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेको भारत भ्रमणबारे बाबुरामको टिप्पणी - नेपाल–भारत सम्बन्धको मूल गाँठो अझै फुकेको छैन

रवि लामिछानेको भारत भ्रमणबारे बाबुरामको टिप्पणी - नेपाल–भारत सम्बन्धको मूल गाँठो अझै फुकेको छैन

बुधवार , जेठ २०, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत सम्बन्धमा देखिने मित्रताभन्दा गहिरो तहमा रहेका सुरक्षा र सार्वभौमसत्तासम्बन्धी प्रश्नहरू अझै समाधान हुन नसकेको बताएका छन् ।

उनले यतिबेला काठमाडौं र नयाँदिल्ली दुवैतर्फ सुनिएका राजनीतिक ‘गड्याङगुडुङ’का आवाज आफूलाई त्यति प्रिय नलागेको टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण र भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्समा प्रकाशित लेखको सन्दर्भ उल्लेख गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले लामिछानेको लेखले नेपाल र भारत दुवैतिर सकारात्मक तरङ्ग सिर्जना गरेको र विकास साझेदारी तथा सभ्यता–संस्कृतिमा आधारित सम्बन्धका विषयमा उठाइएका अधिकांश कुरासँग आफू सहमत रहेको बताए।

भट्टराईले आफ्नो प्रधानमन्त्रीकालमा भएको सम्झौताको प्रसंग स्मरण गर्दै त्यसबेला पनि नेपाल–भारत विकास सहकार्यप्रति दुवै पक्षमा उत्साह देखिएको उल्लेख गरे।

तर उनले सम्बन्धको अर्को गम्भीर पाटो भने अझै अनसुल्झिएको बताए। उनका अनुसार भारतको सुरक्षा दृष्टिकोण र नेपालमा विद्यमान राष्ट्रिय सार्वभौमसत्ताप्रतिको संवेदनशीलताले दुई देशबीचको सम्बन्धलाई निरन्तर जटिल बनाइरहेको छ।

'भारतीयहरूको मनोविज्ञानमा ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो मेरो प्रभावक्षेत्र हो’ भन्ने सोच गहिरो रूपमा बसेको छ, जसको अभिव्यक्ति सीमा विवादमा देखिन्छ,' उनले उल्लेख गरेका छन्।

त्यस्तै नेपाली समाजमा ‘सिक्किमीकरण’ को सम्भावित खतरा सम्बन्धी त्रासले पनि सम्बन्धमा अविश्वासको वातावरण कायम राखेको उनको भनाइ छ।

भट्टराईले यही जटिलता समाधान गर्न नेपाल र भारतका विज्ञ तथा प्रबुद्ध व्यक्तिहरू सम्मिलित इपीजीको अवधारणा अघि सारिएको स्मरण गराउँदै उक्त प्रतिवेदन अझै कार्यान्वयनको प्रतीक्षामा रहेको बताए। उनका अनुसार इपीजीको प्रतिवेदन अहिले “मृत्युशैय्यामा छट्पटाइरहेको” अवस्थाजस्तै बनेको छ।

नेपाल–भारत सम्बन्धलाई उनले ग्रिक मिथकको ‘सिसिफस’ कथासँग तुलना गर्दै दुई देश बारम्बार उही समस्याको चक्रमा फसिरहेको टिप्पणी गरेका छन्।

भट्टराईले अन्त्यमा रास्वपा सभापति लामिछानेको वर्तमान दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धमा लामो समयदेखि कायम रहेको अविश्वास र जटिलताको दुष्चक्र तोड्न योगदान पुर्‍याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077