काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतामा वर्तमान व्यवस्थाप्रति नै निराशा छाएको बताएका छन् ।
शनिबार काठमाडौंमा जनमोर्चाले आयोजना गरेको गणतन्त्रका विषयमा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले देशको समस्याको बेवास्ता गरी भ्रष्टाचारमा मात्र लिप्त भएका कारण व्यवस्थाप्रति नै निराशा छाएको बताए । दलका नेताहरूका कारण जनताले लोकतन्त्रमाथि नै प्रश्न उठाएको उनले बताए ।
हाल लोकतन्त्र र गणतन्त्र निकै अप्ठ्यारोमा रहेको भन्दै उनले सबै सचेत हुनुपर्ने धारणा राखे । भ्रष्टाचार गर्ने नेता, प्रशासक सबैलाई कारबाही गरेर सुशासन कायम गर्न राज्य गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष केसीले नेता र प्रशासकको चिन्तन कमाउने मात्र भएका कारण मुलुक अप्ठ्यारोमा परेको टिप्पणी गरे ।