काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे आफूले प्रतिनिधिसभामा जेठ १३ गते जवाफ दिने बताएका छन् ।
शनिबार धनुषाबाट काठमाडौँ फर्किएका लेखकले त्रिभुवनविमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ दुरुपयोग प्रकरणमा आफ्नो नाम मुछिएपछि उनले संसद्मै यसबारे विस्तृत बताउने उल्लेख गरे ।
‘यो बारेमा म विस्तृत कुरा १३ गते सम्मानित सदन प्रतिनिधिसभामा बोल्नका लागि मैले समय मागिसकेको छ,’ लेखकले भने, ‘सबै विस्तृत कुरा त्यहाँ बोल्ने छु।’
उनले कुनै पनि कर्मचारीमाथि अनुसन्धान प्रारम्भ हुँदैमा सम्बन्धित मन्त्रीले राजीनामा दिँदै जानुपर्ने अभ्यास नरहेको र त्यस्तो पद्धति बसाउन नसकिने बताए ।
‘कुनैपनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरुले राजीनामा दिदै जाने हो ? के त्यही पद्धती बसाउने हो ? त्यो सम्भव छ ? आजसम्म त्यस्तो भएको छ ?’
आफूलाई कसैले दोषी प्रमाणित गरे या भएमा आफूले राजनीतिबाटै राजीनामा दिने उनको भनाइ छ।
‘भिजिट भिसाको बारेमा मात्रै होइन, मेरो सार्वजनिक, राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता भएको प्रमाणित गर्छ भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’ लेखकले भने।
गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेको छ ।