काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
कर्णाली, लुम्बिनी, बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
महाशाखाका अनुसार बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण९पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।
आज दिउसो कोशी, मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेश प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।