काठमाडौं । आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । राजतन्त्रसहितको हिन्दू राज्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)सहितका राजावादीहरुले निर्णायक आन्दोलन गर्ने बताइरहेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौता नगर्ने भए हेलिकोप्टर चढेर भाग्न मौका दिने बताइसकेका छन् ।
जेठ १५ गतेबाट राजावादी पक्षधरले गर्न लागेको आन्दोलनको तयारी बैठकमा उनले भनेका थिए–‘प्रधानमन्त्रीले उमेरको हिसाबले पनि भाग्न सकिँदैन।
भाग त भन्नुभएन नि हो। भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट दिने ।’
राजावादीहरुले जेठ १५ देखिको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने विवादित अभिव्यक्ति दिएका छन् ।
प्रधामन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिइसकेका छन् ।
प्रधानमन्त्री ओलीले उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न निर्देशन गरेका हुन् ।
उनले एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
यसबारेमा पार्टीले आवश्यक निर्देशन पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए ।
एमाले अध्यक्ष समेत रहेका ओलीले भने-‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस् ।’
प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिंदै उनले भने–‘म साथिहरूलाई आग्रह गर्न चाहन्छु । निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सकिएपछि १५ गतेमा ध्यान दिनुस् ।’
आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने भन्दै प्रधानमन्त्री ओलीले भने-‘आन्दोलनमा यो प्रोटोकल स्रोटोकलको कुरा हुँदैन । यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ । आन्दोलनमा पनि यता र यता हुन्छ र ? सबै एकैतिर ।’