रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् ।
दुई महिनादेखि बेलायतमा बस्दै आएकी उनी लगातार १० वटा बैठकमा अनुपस्थित भएकी छन् । त्यसैलै संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो ।
बेलायतबाटै आएर समानुपातिक सांसद बनेकी गुरुङ अहिले फेरि त्यहि फर्किएकी हुन् ।
जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य गुरुङले वैशाख ३० गते श्रीमान् कैलाश गुरुङमार्फत हस्तलिखित राजीनामा पत्र सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक गरेकी थिइन् ।
तर, प्रदेशसभामा औपचारिक रूपमा राजीनामा पत्र पेश भएको छैन ।
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङ लगातार १० बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद रिक्त घोषणा गर्न अनुरोध गरेका हुन् ।
गुप्ताले आजको प्रदेशसभा बैठकमा गुरुङ पदमुक्त भएको घोषणा भएको जानकारी गराएका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा गुरुङ सबैभन्दा कम उपस्थिति हुने सांसद हुन् । पाँचौं अधिवेशनसम्म भएका ८३ बैठकमध्ये उनी ३४ बैठकमा मात्र उपस्थित भएकी थिइन् ।
छैंटौं अधिवेशनका १० वटै बैठकमा उनी अनुपस्थित रहिन् । तीन सांसद रहेको जनमतको अब दुई सांसद भएका छन् ।