एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट आयात गर्ने सामानमा आयात कर लगाउन पाउने भएका छन् ।
अन्तर्राष्ट्रिय व्यापार अदालतको यसअघिको आदेश पुनरावेदन अदालतले उल्ट्याएसँगै आयात गरिने सामानमा कर लिने बाटो खुलेको हो ।
एक दिनअघि अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्प प्रशासनले लगाएको विश्वव्यापी आयात कर (ट्यारिफ) हरूलाई अवैध ठहर्याएको थियो ।
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले गरेको निर्णयले ट्रम्प प्रशासनलाई रुष्ट बनाएको थियो । उनीहरूले उक्त फैसलालाई न्यायिक हदबन्दी नाघेर गरेको फैसला भनेका थिए । ट्रम्प प्रशासनले यस निर्णयको विरुद्धमा अपील गरेको थियो ।
यससँगै अमेरिकी संघीय पुनरावेदन अदालतले अन्तर्राष्ट्रिय व्यापार अदालतको आदेशलाई रोक लगाएको हो । मुद्दाको अर्को सुनुवाइ जुन ५ मा हुने तय भएको बताइएको छ ।