कास्की । पोखराको पर्यटकीयस्थल फेवातालमा सीमांकन सुरू भएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै प्रदेश सरकार, पोखरा महानगरपालिका र स्थानीय प्रशासनको सक्रियतामा आजदेखि फेवातालमा सीमांकन सुरू गरिएको हो ।
यसअघि, सीमांकन गर्ने क्रममा स्थानीय जग्गाधनीले मुआब्जाको विषयमा आफूहरूसँग छलफल नगरी एकलौटि रूपमा काम अगाडि बढाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै काममा अवरोध सिर्जना गरेका थिए।
तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवातालको नयाँ सीमासहितको क्षेत्रफल निकालेको थियो।
उक्त समितिले फेवाताल छुट्ट्याउने गरी डिजिटल रूपमा एक हजार ५५ वटा पोल गाडिने जनाएको छ। सोही अनुसार शनिबार सात वटा पोल गाडिएका छन्। तालको उच्चतम पानीको विन्दुमा सात वटा पोल गाडिएको हो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले फेवातालको किनारस्थित बाराहीघाटमा पोल गाडेर सीमांकनको शुभारम्भ गरे ।