Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जातीय भेदभाव र छुवाछूत उन्मूलनका लागि आफैँबाट सुरुवात गर्नुपर्छ : अध्यक्ष दाहाल

जातीय भेदभाव र छुवाछूत उन्मूलनका लागि आफैँबाट सुरुवात गर्नुपर्छ : अध्यक्ष दाहाल

बुधवार , जेठ २२, २०८२

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जातीय भेदभाव र छुवाछूत प्रथा उन्मूलनका लागि राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज र आम नेपालीले आफैँबाट सुरुवात गर्नुपर्ने बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली जनताले गरेका थुप्रै ऐतिहासिक जनसङ्घर्ष, जनआन्दोलन, सामाजिक तथा सांस्कृतिक आन्दोलनले जातीय भेदभाव र छुवाछूत प्रथा उन्मूलनका लागि थुप्रै कानुनी व्यवस्था भएका छन्, तर समाजमा रहेको परम्परागत सोच, अशिक्षा, संस्कार र धर्मका नाममा जातीय भेदभाव र छुवाछूत पूर्णरुपमा उन्मूलन भएको छैन।’

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव संरक्षण र प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका छुवाछूत अन्त्य गर्ने सङ्कल्प राखेको दाहालले बताए।

उनले यो दिवसले सबैलाई जातीय आधारमा हुने विभेद अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। विसं २०६३ जेठ २१ मा सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। सोही दिनको स्मरणमा हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रूपमा मनाइन्छ।

यो दिवसले दलित समुदायको सम्मान र समानता स्थापित गर्ने, सामाजिक न्याय र मानवअधिकार प्रवर्द्धन गर्ने अवसर भएको उल्लेख गर्दै दाहालले जातीय भेदभाव र छुवाछूतविरुद्ध सङ्घर्ष गर्ने दायित्व दलित समुदायको मात्र नभई सम्पूर्ण मानव समुदायको साझा जिम्मेवारी भएको बताए ।

उनले भने, ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सभ्य, उन्नत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077