काठमाडौं । सेरेसलगायत विभिन्न ब्राण्डका गाडीहरु आयात गरेर नेपाली उपभोक्ताहरुलाई सेवा पुर्याउँदै आएको एमएडब्लु बृद्धि मेटिस प्रालि विरुद्ध अफवाह फैलाउने खालका समाचार प्रकाशित भएको पाइएको छ ।
अप्रमाणित भ्रमपूर्ण व्यहोरा प्रकाशन गरेर कम्पनीकै पेशा व्यवसायमा प्रतिकुल प्रभाव पारेको भन्दै एमएडब्लुले काठमाडौं जिल्ला अदालतमा १९ गते मुद्दा दर्ता गराएको थियो ।
विजनेस नेपाल इन्भेष्टमेन्ट प्रालिविरुद्ध एमएडब्लुले दर्ता गराएको रिटमाथि सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतले कारण देखाउ आदेश जारी गरेको छ भने अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको एकल इजलाशले निवेदककाविरुद्ध हुने गरी अप्रमाणित र सत्यतथ्यमा आधारित नभएको समाचार अब आफ्नो वेवसाइट, अनलाईन वा अन्य माध्यमवाट प्रकाशन, प्रशारण नगर्न नगराउन विपक्षीहरुको नाममा आदेश जारी गरिदिएको हो ।
आदेशमा भनिएको छ–‘निवेदनमा अन्तरिम आदेश समेत माग गरेको देखिएकोले सो तर्फ विचार गर्दा, यस एमएडब्लु बुद्धि मेटिस प्रालिले सेरेस लगायत विभिन्न ब्राण्डका गाडी आयात गरेर नेपाली उपभोक्तालाई सेवा पुयाउँदै आएकोमा विपक्षीहरुले अनलाइन लगायतका विभिन्न विद्युतीय आमसञ्चार माध्यमको दुरुपयोग गरी‘उत्पादन वन्द भएपछि सेरेस ग्लोबलले आफ्नो वेबसाइटबाट हटायो सेरेस ३ का सम्पूर्ण विवरण’ शिर्षकमा अप्रमाणित भ्रमपूर्ण व्यहोरा प्रकाशन गरी निवेदकको पेशा व्यवसायमा प्रतिकुल प्रभाव पारेको भन्ने निवेदन व्यहोरा रहेको देखिँदा निवेदनमा उल्लेखित भएको विषयका सम्बन्धमा निवेदकका विरुद्ध हुने गरी अप्रमाणित र सत्यतथ्यमा आधारित नभएको समाचार अव आफ्नो वेवसाइट, अनलाईन वा अन्य माध्यमवाट प्रकाशन, प्रशारण नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।
आदेशमा निवेदको प्रकृति हेर्दा दुवै पक्षलाई राखी अल्पकालीन आदेशको निरन्तरता दिने नदिने सम्बन्धमा छलफल हुन उपयुक्त देखिएको भन्दै जेठ २८ गतेका लागि दुबै पक्षलाई उपस्थित हुन भनिएको छ ।