काठमाडौं । नागढुंगा–नौबिसे सडक खण्ड भोलीबाट फेरि बन्द हुने भएको छ ।
सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले भोलीदेखि थप पाँच दिन बन्द हुने भएको हो ।
नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड)का अनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द हुने भएको हो ।
आयोजनाले जारी गरेको सूचनामा भनिएको छ–‘जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ ।’
उक्त सूचनामा उक्त अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
यसअघि जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरिएको थियो । काम नसकिएकाले फेरि पनि बन्द हुने समय थप गरिएको हो ।