Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सहरी विकासमन्त्री लिएर कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षणमा प्रधानमन्त्री ओली

सहरी विकासमन्त्री लिएर कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षणमा प्रधानमन्त्री ओली

आइतवार , जेठ २६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन् ।

अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुगेका प्रधानमन्त्री ओली फर्किने क्रममा त्रिबि रंगशालाको निरीक्षण गरेका हुन्।

प्रधानमन्त्री ओलीले रंगशालाको प्रगति विवरणबारे जानकारी लिएका थिए। नेकपा एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिबि रंगशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए। तर, उनको निर्णय कार्यान्वयन हुन सकेन।

गत फागुन २० गतेबाट रंगशालाको निर्माण कार्य सुरू भएको थियो। पहिलो ६५ दिनमा निर्माण काम नसकिएपछि प्रधानमन्त्री ओलीले अन्तिमपटकका लागि भन्दै असार मसान्तसम्म समय तोकेका छन्।

प्रधानमन्त्री ओलीसँगै सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि रंगशाला पुगेका थिए।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए ।

प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

आगामी आर्थिक वर्षमा सरकारले कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्थलगत निरीक्षणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले ‘प्रशंसनीय कामको लागि धन्यवाद’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्–‘कीर्तिपुरस्थित मैदानमा क्रिकेट रङ्गशाला निर्माणको काम तीन सिफ्टमा भइरहेको छ। आज अनेरास्ववियुको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न कीर्तिपुर पुगेको बेला केही समय क्रिकेट रङ्गशाला निर्माणको प्रगति बुझ्न निर्माणस्थल गएको थिएँ। रङ्गशाला निर्माणमा काम गर्ने इन्जिनियर, सुपरभाइजर, मजदुर लगायत सबैलाई प्रशंसनीय कामको लागि धन्यवाद !'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077