काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका स्वर्गीय नेता ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।
सोमबार काठमाडौं निधन भएका शास्त्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
पार्टी कार्यालयमा सभापति देउवा लगायत नेता, कार्यकर्ता, शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए ।
कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।
नेपाली कांग्रेसले उनलाई एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञका रूपमा स्मरण गर्दै पार्टीको संगठन निर्माण, प्रजातन्त्रप्रतिको प्रतिबद्धता र समाजवादी विचार प्रवर्द्धनमा उनको योगदानलाई सदा सम्झिने उल्लेख गरेको छ।
बुधबार कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।