काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासका लक्ष्य हासिल गर्न ठूलो मात्रामा लगानीको आवश्यकता रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले दिगो विकासका लक्ष्य हासिल गर्न वैकल्पिक विकास, वित्त परिचालन सम्बन्धी विधेयक संसद्मा पेश गरेको बताए ।
उनले सहायता परिचालनलाई प्रभावकारी बनाउन वैदेशिक सहायता परिचालन नीति २०८२ जारी गरिएको र लगानीको वातावरण सुधार गर्न निजी क्षेत्रको सहकार्यमा लगानीसँग सम्बन्धित विभिन्न कानुन सुधार तथा परिमार्जन गरिएको जानकारी गराए ।
वैदेशिक लगानी आप्रवाह तथा निजी लगानी विस्तार भई पूर्वाधार निर्माण आर्थिक क्रियाकलाप विस्तार हुने अपेक्षा रहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गर्दै यसको लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधीकरण, बौद्धिक सम्पत्ति संरक्षण र प्रवर्द्धन, दुई पक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयन गर्नु पर्ने उनले बताए ।