काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक यात्रा अझै पनि जननेता मदन भण्डारीको विचार र दर्शनको सेरोफेरोमै अघि बढिरहेको बताएका छन् ।
शनिबार मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित ‘जबजका तीन दशक’ विषयक विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले भण्डारीको विचारलाई मुलधारको मियोका रूपमा व्याख्या गरेका हुन् ।
“विश्वमै वामपन्थी र समाजवादी आन्दोलन गम्भीर संकटमा पर्दै गर्दा मदन भण्डारीले नेपालमा नयाँ वैचारिक दिशा दिएका थिए,” ओलीले भने, “आज पनि हाम्रो देश उहाँकै सोच, दर्शन र सिद्धान्तको आधारमा अगाडि बढिरहेको छ।”
प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई व्यवहारिक ढंगले नेपाली समाजमा रूपान्तरण ल्याउने खाका र सोचका रूपमा प्रस्तुत गर्दै भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ युगमा डोर्याएको बताए।
उनले जबजको वैचारिक जग चौथो महाधिवेशनमै निर्माण भएको र पाँचौं महाधिवेशनमा त्यसलाई औपचारिक रूपमा सूचीकृत गरिएको उल्लेख गर्दै भण्डारीको महासचिव चयन ऐतिहासिक मोड भएको बताए ।