काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको महाकाली सन्धिमा देश नबेचिएको बताएका छन् ।
मदन भण्डारी फाउन्डेसनले मदन जयन्तीका अवसरमा शनिवार आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘२०५४ सालमा पार्टी विभाजन गरियो, नहुनुपर्थ्यो। कुनै इस्यु थिएन, नक्कली इस्यु थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘महाकालीको इस्यु भनेको जसलाई त्यतिखेर राष्ट्रवादको झन्डा देखाएर महाकाली–महाकाली भन्दै कुद्ने एउटा स्थिति भयो, नक्कली, आडम्बरी पाखण्डी कुरा थियो त्यो। त्यसमा कुनै दम र सहीपन थिएन।’
अहिले पनि महाकाली परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘अहिले सबै छन् कार्यान्वयन गर्ने पक्षमा । म पनि छु। सम्भवतः निकट भविष्यमै पञ्चेश्वर परियोजना बन्ने स्थिति बन्छ। यो गर्नै पर्ने छ।’
प्रधानमन्त्री ओलीले महाकाली सम्झौता अन्तर्गत बिजुली, पानी लिइएको बताए। उनले भने,‘महाकाली सम्झौता ठिक छ। कुनै नदीखोला बचेका छैनौँ।’