काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीको भाषण नै नसुनी हिँडेका छन् ।
मदन भण्डारीको जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो भाषण अगाडि नै गरेर हिँडेका हुन् ।
उक्त कार्यक्रममार्फत पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने घोषणा गर्ने भनिएको छ । तर साँझ स्पेन प्रस्थान गर्ने कार्यक्रमलाई देखाएर ओलीले भण्डारीको भाषण नै नसुनी हिँडेका छन् ।
‘अहिले पाँच बजे एयरपोर्ट पुग्नुपर्ने छ। सम्माननीय पूर्व राष्ट्रपति ज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईँ राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छ। उहिल्यै देखि सुन्दै आएको ।’ आज मात्रै सुन्नुपर्ने अवस्था भए बस्नुपर्ने हुने भए पनि त्यसो नभएको उनले बताए ।
‘अब आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएकै हो। त्यस कारण सुन्दै आएको छु राम्रै छ,’ ओलीले भने ।