बुटवल । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाललाई लक्ष्यित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ भन्दै कडा अभिव्यक्ति दिएकी छन् ।
उनले हिजो गरेको सो भाषणले नेकपा एसभित्र हलहल मच्चिएको छ । नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि छअर्ली महाधिवेशन’ को माग समेत राखिन् ।
उनले भनेकी थिइन्–‘पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसलाई लिएर नै झाँक्रीले ‘अध्यक्षकै कारण संकट आएको’ बताएकी हुन् ।
पार्टीकै उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा झाँक्रीले कडा शब्दमा नेतृत्वको आलोचना गरेपछि यसलाई बाहिर आउन नदिन प्रयास भयो ।
खिचिएका भिडियोहरु डिलिट गर्ने र गराउने कामहरु भएको बुझिएको छ । तर, युवा संघकी केन्द्रीय नेतृ तथा नेकपा एस गोरखाकी अगुवा रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक वालमा झाँक्रीको भिजुअल अपलोड गरिदिएकी छन् ।
झाँक्रीको यो अभिव्यक्तिले नेकपा एसका नेता–कार्यकर्ताहरूलाई आक्रोशित तुल्याएको छ । अध्यक्ष नेपाल निकट केही युवा नेताहरूले सामाजिक सञ्जालमा उनीविरुद्ध प्रहार पनि सुरू गरेका छन् ।
झाँक्री लामो समयदेखि नेकपा एसभित्र असन्तुष्ट छिन् । नेकपा एस स्थापनाका बखत अध्यक्ष नेपालसँग एकदमै नजिक भएकी उनी केही समयअघि नेकपा एमालेमा प्रवेश गर्न लागेको चर्चा पनि चलेको थियो ।
नेकपा एस निर्वाचन आयोगमा दर्ताको प्रकृयाका लागि नेपालको हात समाएर डोहोर्याउँदै हिंडेपछि झाँक्रीको खुब चर्चा भएको थियो ।
अध्यक्ष नेपालको मुद्दामा थुनछेक आदेश आउने बखत झाँक्री विशेष अदालत समेत पुगेकी थिइन् । थुनछेक बहस सकिएपछि बेलुका अदालत गएकी उनी बाहिर रहेका कार्यकर्ताहरूलाई हात हल्लाउँदै भित्र इलाजसमै पुगिन् । उनी राति अबेरसम्म अध्यक्ष नेपालसँगै थिइन् । करिब चार घन्टा इजलासमै बसेकी उनी अध्यक्ष नेपाल धरौटी बुझाएर निस्किएपश्चात मात्रै अदालतबाट बाहिरिएकी थिइन् ।
तिनै झाँक्री यतिबेला नेपालसँग किन रुष्ट बनेकी हुन् ? भनेर नेकपा एसकै कार्यकर्ताहरु अचम्मित परेका छन् ।
यता, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले नेतृ रामकुमारी झाँक्रीलाई काउन्टर जवाफ फर्काएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा पराजुलीले लेखेका छन्–‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ । हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टण्डबाजी गरेर उदय भएको हो ।’
पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई लक्षित गर्दै थप लेखेका छन्–‘कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी । यो मानसिकताको विशेष गुण हो । यस्तो मानसिकता विश्वास गरेर हामी मूर्ख नबनौँ ।’