काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले ६ प्रदेशमा सभा गर्ने भएको छ ।
आइतबार लाजिम्पाटस्थित बाबा होटलमा बसेको मोर्चाको बैठकले मोर्चाको उद्देश्य, औचित्य र आवश्यकताबारे प्रकाश पार्न काठमाडौं, भैरहवा, कैलाली, विराटनगर, जनकपुर र वीरगञ्जमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
जसअनुसार काठमाडौंमा साउन १७ गते सभा आयोजना गर्ने मोर्चाले बताएको छ । भैरहवामा आगामी साउन २१ गते, कैलालीमा साउन २३ गते, वीराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते र वीरगञ्जमा भदौ २० गते सभा आयोजना गर्ने मोर्चाको तयारी छ ।
आजको बैठकले संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरेको र आजकै मितिबाट लागू गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए ।
नाउपाका संरक्षक चौधरीको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका राजकिशोर यादव, मनिष सुमन, शर्मा, नाउपाबाट संरक्षक चौधरी, लालबीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा र अनिल महासेठ सहभागी भएका थिए।
त्यस्तै लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह बैठकमा सहभागी भएका थिए।