सिरहा । सिरहा प्रादेशिक अस्पतालमा चिकित्सकीय लापरवाहीका कारण १० वर्षीय बालकको मृत्यु भएको आरोप लागेपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ ।
मृतक बालक राजन महराको न्यायको माग गर्दै आक्रोशित स्थानीयवासी र आफन्तले आज बिहानैदेखि प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्।
सिरहा नगरपालिका–६ बसबिट्टाका झल्कु महराका छोरा राजन महरा केही दिनदेखि ज्वरोले ग्रसित थिए। उनी उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएपछि स्वास्थ्यकर्मीले दूध र बिस्कुट खुवाएर सुई दिएको उनका आफन्तले बताएका छन् ।
मृतककी ठूलीआमा सोभा महराका अनुसार, बालकले अन्तिम सास अस्पतालकै शैय्यामा लिएका थिए । बालकको मृत्युको खबर सुनेपछि उनकी आमा बेहोस भई अहिले अस्पतालमै उपचाररत छन् ।
उक्त घटनापछि चर्किएको जनआक्रोश नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ । आन्दोलन उग्र बन्दै जाँदा भएको ढुंगामुढामा परी ९ जना प्रहरी घाइते भएका छन् भने आन्दोलनकारीतर्फ पनि दर्जनभन्दा बढी घाइते भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घटनाबारे प्रतिक्रिया दिँदै उपचारमा संलग्न चिकित्सक डा. सुदेश कुमार यादवले बालकको अवस्था अस्पताल ल्याइँदा नै गम्भीर रहेको र शरीरमा रगतको मात्रा अत्यन्त न्यून रहेको बताए। उनका अनुसार तत्काल रगतको आवश्यकता भए पनि अस्पतालको ब्लड बैंकमै अभाव देखिएको थियो।
तर पीडित परिवार र स्थानीयवासीले भने चिकित्सकको लापरवाही र अस्पताल व्यवस्थापनको चरम निष्क्रियता नै बालकको मृत्युको मुख्य कारण भएको बताएका छन् ।
उनीहरूले दोषी चिकित्सक तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कडा कारबाहीको माग गरेका छन् । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।