काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउण्डेशनले आयोजना गरेको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधन गरेका छन्।
विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन पुगेका ओलीले सो कार्यक्रममा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले यस प्रकारको स्वतन्त्र आयोगले अल्पविकसित र साना मुलुकको विकासका लागि देखिएको लगानीको खाडल पूर्ति गर्न योगदान दिनसक्ने बताए ।
“यो आयोग स्थापनाको पहलका लागि म खुसी व्यक्त गर्दछु । यसले सामाजिक र आर्थिक विकासमा सहायता वृद्धि भई लगानीको प्राथमिकता र विश्लेषणका लागि सन्तुलन मिलाउन सहयोग गर्ने छ”, उनले भने, “पेरिस सम्झौतासमेतका आधारमा विश्वको समग्र आर्थिक अवस्था, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनको मूल्याङ्कन गरी आर्थिक दिगोपनामा लाग्नुपर्छ ।
नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेको अवस्थामा हामीजस्ता मुलुकका लागि विकासमा रहेको आर्थिक खाडल पूर्तिका लागि विश्व आर्थिक प्रणालीको पुनरावलोकन गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।