काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बहुचर्चित सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राईलाई पक्राउ गर्न सरकारलाई कडा चुनौती दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत सांसद समेत रहेका शाहीले सरकारको आलोचना गर्दै जीबी राईलाई पक्रेर देखान चुनौती दिएका हुन् । उनले लेखेका छन्, “तिमीहरूले देश पछि चलाउलाउ, पहिले जीबी राई पक्रेर देखाऊ।”
उनले तीन जना गृहमन्त्री फेरिँदा पनि सहकारी पीडितहरूले न्याय नपाएको उल्लेख गर्दै सरकारको नियतमाथि प्रश्न उठाए ।
“तीन वटा गृहमन्त्री फेरिँदा पनि सडकमा पसिना चुहाउँदै मकै पोलेर, सागका मुठा बेचेर जम्मा गरेको गरिबको पैसा खाने जीबी राईलाई पक्रन सकेनन्,” शाहीले लेखे, “अझै पनि देश चलाउने ठूला गफ गर्छन्।”
पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेर जीबी राई फरार छन् ।