काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न समयमा कम्युनिष्ट पार्टीमा आएको सैद्धान्तिक विचलनले सामाजिक न्याय तथा आर्थिक रुपान्तरण हुन नसकेको बताएका छन् ।
पार्टी निकट आदिवासी जनजाति महासंघद्वारा केन्द्रीय कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीलाई सच्याएर देश विकास तथा जनताका अधिकार संरक्षणका लागि लाग्नुपर्नेमा जोड दिए ।
एकीकृत समाजवादीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गर्दै उनले सिद्धान्त, नीति तथा कार्यक्रमका आधारमा वामपन्थी शक्ति एकताबद्ध गर्न आफूहरुले देशभर राजनीतिक अभियान सुरु गरेको पनि धारणा राखे ।
साथै उनले सभ्य समाज निर्माणका लागि मुलुकमा विद्यमान सबै प्रकारका विभेद तथा उत्पीडनको अन्त्य गर्नुपर्ने बताए ।