काठमाडौं । सागर ढकालले रुपन्देही क्षेत्र नं. ३ बाट उपनिर्वाचन लड्ने संकेत दिएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका ढकालले मंगलबार सामाजिक सञ्जालमा लेख्दै सो संकेत गरेका हुन् ।
उनले रुपन्देही-३ को उपनिर्वाचनलाई प्रमुख दलहरूको ‘राणा शासन’ विरुद्धको निर्णायक लडाइँको सुरुवात बनाउनुपर्ने बताए ।
ढकालले काठमाडौंमा बालेन शाह र चितवनमा रवि लामिछानेले प्राप्त गरेको मतको उदाहरण दिँदै लेखेका छन्, ‘अब रुपन्देही ३ मा करिब ९०,००० मत छन्, त्यसमा तपाईं हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ।’
प्रमुख तीन दललाई एउटै कित्तामा राख्दै उनले भनेका छन्, ‘कांग्रेस, एमाले, माओवादी एउटै हुन्। यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ।’
उनले आफ्नो पोस्टमा नारायणगढ-बुटवल सडक खण्डको दुर्दशा, न्यायालयको अवस्था र कुलमान घिसिङ प्रकरणलाई समेत जोडेर प्रमुख दलहरूको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘यो चुनाव जनता भर्सेस राणा शासन हो।’
उनले रुपन्देही-३ को चुनावलाई केवल एउटा क्षेत्रको चुनाव नभई सिंगो देशको आवाज बोल्ने अवसरको रूपमा लिन मतदातालाई आह्वान गरेका छन् ।
निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो ।