कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर क्षेत्रका ठूला मिटरब्याजीसँग प्रहरीकै साँगगाँठ देखिएपछि स्थानीयहरु आक्रोशित भएका छन्। मिटरब्याजीसहित मिलेर केही प्रहरीले स्थानीयलाई धम्काउनेसम्मको काम गरिरहेका छन्।
कृष्णनगरका मिटरब्याजीहरू मोहम्मद रइस शेष र उनका छोरा प्रिन्स उर्फ अफताब शेषले सयौं स्थानीयलाई गैरकानूनी रूपमा उच्च ब्याजदरमा ऋण दिई करोडौं रुपैयाँ ठगी गरेका छन्।
दर्जनौं पीडितहरूबाट इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी परेपछि रइस शेषलाई पक्राउ गरी ७ दिनको म्याद थपिएको छ भने उनका छोरा अफताब फरार भएका छन्।
पीडितहरूका अनुसार बाबुछोराले जबर्जस्ती खाली चेकमा हस्ताक्षर गराई ती चेकमार्फत ठूलो रकम भरेर मुद्दा हाल्ने, बैंक चेक बाउन्स गराई धम्की दिने गरेका छन्। कतिपयको घरजग्गा नै कब्जा गरेका छन्।
पीडितहरु आन्दोलनमै उत्रिएपछि प्रहरीले उजुरी लिएर अनुसन्धान थालेको छ । तर, कतिपय प्रहरी नै उनीहरुलाई छुटाउन लागिपरेका छन्।
स्रोतका अनुसार इप्रकाका प्रहरी नायब निरीक्षक चेतलाल बिक र सहायक हवल्दार भगत चौधरीले दुवैपक्षसँग बार्गेनिङ गरिरहेका छन्।
एकातर्फ उनले मिटरब्याजीलाई धम्काउने र अर्कोतर्फ केस मिलाइदिने भन्दै केही पीडितहरुसँग पैसा मागेको उजुरी परेको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरमा लामो समयदेखि कार्यरत सहायक हवल्दार भगत चौधरी र अन्य केही प्रहरी कर्मचारीहरू मिलेमतोमा अपराधिक व्यक्तिहरुलाई संरक्षण दिने आरोप लाग्दै आएको छ।
उता, रोल्पा दरबन्दी भएर कपिलवस्तमा लामो समयदेखि काम गर्दै आएका प्रहरी हवल्दार सत्तनारायण यादवको पनि आतंक बढेको छ । खासगरी फरार अपराधीहरुसँग मिलेर उनले पैसा असुल्ने गरेको स्रोत बताउँछ ।
हालै सप्तरीमा त्यसैगरी पैसा असुलिएको घटनामा एसपीकै सरुवा भएको थियो । कपिलवस्तुमा पनि अदालतबाट दोषी ठहर भएकाहरुलाई पक्राउ नगर्ने भन्दै प्र्रहरीले मासिक पैसा बुझ्ने गरेको आरोप लागेको छ ।