काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन् ।
पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सचिवालय बैठक चलिरहेका बेला त्यहाँ पुगेकी झाँक्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताइन् ।
अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूलो केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको बताइन्।
नेतृ झाँक्रीले भनिन्–‘स्पष्टीकरण सञ्चारमाध्यमतिर सोध्नुभएको रहेछ, केही शक्तिशाली पदाधिकारीले । मलाई त स्पष्टीकरण सोधिएको छैन । मैले पनि आज बिहानभरी कान पाकुञ्जेल त्यही कुरा सुनेँ ।’
उनले जिम्मेवार पदाधिकारीहरूले आफूविरुद्ध व्यक्तिगत तहमा उत्रिएर गालीगालौज गरेको पनि गुनासो गरिन् ।
उनले भनिन्–‘व्यक्तिगत तहमा पनि, गाली गलौजमा, बडी सेमिङमासम्म बोलिरहनुभएको छ । टेलिभिजनबाट स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ, याँ ऊँ भनेको सुनेको थिएँ । त्यो मैले बालेको कन्टेन्टको हिसाबले । पार्टीले १५ गते क्रिया–प्रतिक्रिया नगर्नु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरू प्रोत्साहन गरेजस्तो भयंकरै बोल्नुभएको छ ।’
बुटवलमा पार्टीसंवद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए ।
स्पष्टीकरण सोधिएको भन्ने समाचार आएको तर आफूलाई नसोधिएको बारेमा पार्टीले गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरूसँग निवेदन लिएर आएको स्पष्ट पारिन् ।
नेतृ झाँक्रीले पार्टीलाई आफ्नो कारणले कुनै हानी नहोस् भनेर आफ्नो तहको बैठक नभए पनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको जानकारी गराइन्।
उनले भनिन्–‘जिम्मेवार पदाधिकारी बोलिरहेको विषयमा के हो त, स्पष्टीकरण मलाई पनि नसोध्ने, बाहिर–बाहिर सोध्ने के हो कुरा ? तपाईंहरूको बैठकमा मलाई बोलाउनुस्, म त्यसको जवाफ स–विस्तार दिन्छु । म कुन कन्टेस्टमा बोलेँ, कुन कन्टेन्टमा बोलेँ । मेरो कुराको भनाइ के हो र गलत हो भने कसरी हो ? त्यसमा म हरप्रकारको तथ्य प्रमाण बैठकमै उपस्थित भएर बोल्छु भनेर एउटा निवेदन लिएर आएको हुँ ।’