काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले आफ्नै पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झांक्रीतर्फ इंकित गर्दै ‘सेलिब्रेटि बन्न र स्टन्टबाजी’ गर्न मूल नेतृत्वमाथि प्रहार गरिरहेको बताएका छन् ।
विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी नेतृत्वमाथि प्रहार गर्न थालेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने–‘कोही कोही मान्छेहरू सेलिब्रेटि बन्न र स्टन्टबाजी गर्नका लागि हाम्रो पार्टीका मूल नेतामाथि प्रहार गर्न थालेका छन् । म भन्न चाहन्छु, यो देशमा समकालीन राजनीतिमा निष्कलंक मान्छे भनेको कमरेड माधव नेपाल मात्रै हो । यसमा कुनै द्वीविधा छैन ।’
उनले बजारमा भइरहेका यस्ता स्टन्टबाजी गरिरहेको भन्दै समय आएपछि गुन तिर्ने पनि बताए ।
उनले भने–‘हामीले बजारमा गएर स्टन्टबाजी गरिरहेको हेरिरहेका छौं । समय आएको छैन । समय आएपछि राम्रैसँग गुन तिर्न आउँछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारलाई दुरुपयोग गरेको बताउँदै उनले त्यसको पनि हिसाबकिताब गर्ने बताए ।
पतञ्जली जग्गा प्रकरणमा अख्तियारबाट मुद्दा दर्ता भएसँगै अध्यक्ष माधव नेपालमाथि विशेष अदालतबाट ३५ लाख धरौटी माग गर्दै छाडिएको थियो ।
सोही विषयलाई लिएर स्थायी कमिटी सदस्य झांक्रीले रुपन्देहीमा पुगेर अध्यक्ष नेपाललाई लक्षित गरी ‘सिनो बोकेर हिड्न सकिंदैन’ भन्दै दिएको अभिव्यक्तिलाई लिएर पार्टी पंक्तिमा आलोचना सुरु भएको थियो ।