काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार कुशासनको पक्षपोषक रहेको भन्दै यसको पतन अनिवार्य रहेको बताएका छन् ।
शुक्रबार पार्टी निकट विद्यार्थी सङ्गठनको काठमाडौं जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले वर्तमान सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको दावी गरे ।
उनले भने–‘यो सरकारले मुलुकलाई राम्ररी हाँक्न सकेको छैन । जनभावनालाई बुझ्न सकेको छैन । जनचाहानालाई सम्मान गर्न सकेको छैन र सही नीति अवलम्बन गर्न सकेको छैन । जनताका पीडा वेदनालाई सम्बोधन गर्न सकेको छैन । त्यसो भएकाले यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन र जनचाहाना अनुरूप परिणाम दिने अवस्था पनि छैन ।’
सरकार जनमुखी नभई जनविरोधी रहेको दावी गर्दै उनले भने–‘सरकार सुशासनको पक्षधर होइन कुशासनको पक्षपोषक हो । यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन । यसको पतन अनिवार्य छ । खाली हामीले समय पर्खनुपर्ने मात्र हुन्छ आत्तिनुपर्ने छैन ।’
कुभलो चिताउने, कुभलो गर्ने, अनुचित गर्ने, व्यक्तिवादको सिकार हुने र निम्न पुँजीवादी प्रवृत्तिमा एमाले डुबेको उनले बताए ।
उनले भने–‘नेपालको राजनीतिमा मूल कम्युनिस्ट भनिएको नेकपा एमाले निकै सङ्कटले ग्रस्त भएको छ । त्यहाँभित्र अन्तर्विरोध बढ्दै गइरहेको छ । अब त्यसको भविष्य के हुने हो अहिले नै भन्न सक्ने स्थिति छैन ।’