धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा अछामका युवा नेता डिबी साउँदलाई सदस्यको रूपमा मनोनयन गरिएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ७औँ पूर्ण बैठकले उनलाई प्रदेश कमिटीमा समावेश गर्दै युवाप्रति विश्वासको संकेत दिएको हो ।
डिबी साउँद अछाम जिल्लामा सक्रिय र पहिचान बनाइसकेका युवा नेता हुन् । उनी हालै सम्पन्न एमाले अछामको जिल्ला अधिवेशनमा अध्यक्ष पदका बलियो दाबेदार मानिए पनि अन्तिम घडीमा साइड लगाइएका थिए। जिल्ला नेतृत्वमा उनी नपुगे पनि पार्टीले उनीप्रतिको भरोसा कायम राख्दै प्रदेश तहमा जिम्मेवारी दिएको छ ।
साउँदको संगठनात्मक यात्रा लामो र विविध छ । उनी अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । अनेरास्ववियु अछाम जिल्ला समिति सचिव हुँदै उनी संगठनको केन्द्रीय तहसम्म पुगेका थिए ।
त्यस्तै, उनी १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि परिषद सदस्य समेत रहेका थिए । पार्टीका विभिन्न तहमा लामो समयदेखि सक्रिय रहेका साउँद संगठनभित्र गम्भीर, समर्पित र नीतिगत स्पष्टता बोकेका नेता मानिन्छन् ।
साउँदलाई प्रदेश कमिटीमा स्थान दिएपछि जिल्लामा फेरि उनको चर्चा सुरु भएको छ । एमालेभित्रको शक्तिसन्तुलन र युवा नेतृत्वको सशक्त प्रतिनिधित्वको दृष्टिले यो निर्णय महत्वपूर्ण मानिएको छ। यद्यपि, जिल्लामा अध्यक्ष पदको दौडमा पछि परेका उनी अब प्रदेशस्तरीय भूमिकाबाट प्रभाव जमाउने अवसरमा पुगेका छन् ।
अन्य १६ जना पनि एमाले प्रदेश कमिटीमा मनोनीत
यस्तै प्रदेश कमिटी सदस्यमा मनोनीत हुनेहरुमा जीवन बम, प्रेम चौधरी, देशराज चौधरी, माया शाह, लक्ष्मी आचार्य (कैलाली), सुरेन्द्र बिष्ट, राम बहादुर गुरुङ, कुलबिर चौधरी, ईश्वरी शर्मा, कल्पना गिरी र चाँदनी धामी (कञ्चनपुर) रहेका छन् ।
यस्तै चक्र मल्ल र अर्चना गहतराज (डोटी), दमन भण्डारी (बझाङ), धन रावत (बाजुरा) र पुष्पा अवस्थी (दार्चुला) लाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको एमाले प्रदेश कमिटी सुदूरपश्चिमले जनाएको छ ।