काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद ज्ञानेन्द्र शाहीले न्यायाधीश नियुक्त गर्ने ब्यावस्था नेपालको संबिधानको धारा १५३ लाई खारेज गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टीका झोले कार्यकर्तालाई न्यायाधीश नियुक्त गर्ने ब्यावस्था नेपालको संबिधानबाट खारेज गर्न माग गरेका हुन् ।
कांग्रेस नेता आफताब अलामले सफाइ पाएपछि उक्त घटनाका जिउँदो पीडित भारतीय नागरिक गौरीशंकर राम चमारको फोटो राख्दै सांसद शाहीले स्टाटस लेखेका हुन् ।
सांसद शाहीले फेसबुकमा भनेका छन्–‘न्याय मर्यो यो देशमा ? पार्टीका झोले कार्यकर्तालाई न्यायाधीश नियुक्त गर्ने ब्यावस्था नेपालको संबिधानको धारा १५३ लाई खारेज गरौं । ’
चमार तिनै व्यक्ति हुन्, जो आलमले रौतहटको राजपुर फरहदवामा चलाएको राजा इँटाभट्टामा काम गर्थे । बम विस्फोटको दिन त्यो दिन उनी पैसा लिन घरमा गएका थिए ।
उनी रौतहटमा २०६४ चैत २७ गते संविधान सभामा धाँधली गर्न आफताब आलमको घरमा राखिएको बम बिस्फोटमा घाइते भएका व्यक्ति हुन्।
४३ वर्षीय चमारले भारतबाट सो घटनाका विषयमा बयान दिन काठमाडौं आएको बताएका छन् ।
रौतहटमा बम बिस्फोटप्रकरणसँग जोडिएको पीडित चमार पहिलोपटक सार्वजनिक भएका हुन् ।
उनले भनाइअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित चार जनालाई जेठ १४ गते सफाइ दिएको थियो। सफाइ दिँदा न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले बिस्फोट नै भएको हो वा होइन भन्ने आधार नदेखिएको भन्दै फैसला गरेको थियो।
तर, चमार बम बिस्फोटमा परी घाइते भएका पीडित हुन् ।
उनले आइतबार पत्रकार सम्मेलनमा भने–‘त्यो दिन पैसा लिन घरमा गएको थिएँ। एक जनाले पैसा लिएर गइहाल भन्यो। तर ढोकामा मात्रै पुगेको थिएँ। बम पड्कियो। आगो लागेपछि म भागेँ। घर पछाडि पानी थियो मैले पानी हालेर फेरि भागेँ।’
त्यसपछि के भएको भनेर आफूलाई थाहा नभएको पनि उनले बताए। पछि भारतकै सीतामढीमा रहेको अस्पतालमा उपचार गराएको र साढे ३ लाख भारतीय रूपैयाँ खर्च भएको पनि उनले जानकारी दिए।
उनले आफूले प्रहरी कार्यालयमा बयान दिन जाँदा आलमका मान्छेहरूले आफ्नी आमालाई समेत धम्क्याएको बताएका छन्।
उक्त घटनामा पीडित चमारले पनि जाहेरी दिएका थिए। तर उच्च अदालतले उनको जाहेरी र बयानलाई नै प्रमाणको रूपमा अस्वीकार गरेको छ।
उनले पत्रकार सम्मेलनमा रुदैँ भने–‘अफ्ताब आलम छुटेकोमा मलाई दुःख लाग्यो । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो । मेरो शारीरिक अवस्था नाजुक छ । काम पनि भेटिदैन, काम गर्न पनि सक्दिनँ । म मर्ने कि बाच्ने, मैले केही पनि देखिनँ । कसरी बाँचौं म यो दुनियाँमा ।’