दाङ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई भेट्न उनैको घर पुगेका छन् ।
नाउपाबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि रिसले आगो बनेका रेशमलाई भेट्न शाह आज बिहान बर्दियास्थित घरमै गएका हुन् ।
मुख्यमन्त्री शाहले बिहीबार नाउपाबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए।
मुख्यमन्त्री शाहले असार ५ गते नै मन्त्री चौधरीलाई राजीनामा दिन आग्रह गरेका थिए। तर चौधरीले राजीनामा नदिएपछि उनलाई बर्खास्त गरेका थिए।
कृषकका लागि अनुदानमा वितरण गरिएको पावर टिलर (जोत्ने हाते ट्र्याक्टर) का विषयमा लेनदेन गरेको आरोप लागेपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले पदबाट बर्खास्त गरेका हुन् ।
चौधरी बर्खास्तीमा परेसँगै नाउपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ भने संघमा पनि प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ ।
आइतबार सभामुख देवराज घिमिरेसमक्ष नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिनिधि सभामा प्रतिपक्षी सिटमा बस्ने जानकारी दिइसकेको छ।
नाउपाबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका अरूण चौधरीले आज साँझ राजीनामा दिने बताइसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा मुख्यमन्त्री शाह रेशमलाई भेट्न गएका थिए।
सुदुरपश्चिममा मुख्यमन्त्री शाहले चौधरीलाई भेटेको बताउँदै भेटमा सामान्य राजनीतिक विषयमा छलफल भएको र सरकारमा अर्कै मन्त्री पठाउन आग्रह गरिएको पनि बताए।
तर, चौधरीले भने अहिले सरकारमा बस्नु अहिले उचित नभएको भन्दै जवाफ फर्काएको बताइसकेका छन् ।
शनिवार मुख्यमन्त्री शाह र सभापति देउवाबीच बुढानिलकण्ठमा भेटवार्ता भएको थियो ।
देउवाले नाउपासँग छलफल र संवाद गरेर अघि बढ्न र नाउपाकै नेतालाई मन्त्री बनाउन सुझाव दिएपछि मुख्यमन्त्री शाह र संरक्षक चौधरीबीच आज भेट भएको हो ।