काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको खुलासा भएको हो ।
भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेको बताइएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीसँग उनले भेटेका हुन् ।
उनीहरुबीचको भेटवार्ताले एमालेमा तरंग पैदा भएको छ । पूर्व राष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधा फिर्ता गरेकी थिइन ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको बताइएको छ ।
उनीहरूबिच राजनीतिक र काठमाडौं महानगरपालिकामा देखिएको समस्याको विषयमा पनि कुराकानी भएको थियो । एमालेसहितका दलीय प्रतिनिधि तथा कर्मचारीहरूसँगको द्वन्द्वका कारण बालेनले आगामी आर्थिक वर्षको बजेट समेत ल्याउन सकेका छैनन् ।