हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताएका छन् ।
प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापारिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्रे गर्दैलै जाने बताए।
कर्णाली करिडोरअन्तर्गत पर्ने चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने उनको भनाई छ । उनले हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा खुसी व्यक्त गरे।
हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँ निर्माणाधीन पक्की पुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गरे।