Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

यस्तो छ राजेन्द्र लिङ्देनविरुद्ध नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको उजुरी (पूर्णपाठसहित)

यस्तो छ राजेन्द्र लिङ्देनविरुद्ध नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको उजुरी (पूर्णपाठसहित)

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । राजावादी नेता नवराज सुवेदीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै उक्त निर्णय बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

आइतबार आयोग पुगेर उनले ७ बुँदे उजुरी दिएका हुन् । उजुरीमा उनले विधानले तोकेको पदावधि र कार्यकाल बाँकी नै रहेको र पार्टीको विधान विपरीतको कुनै कार्य नगरेको अवस्थामा अनुशासन समितिको अध्यक्षबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।

उनले उजुरीमा भनेका छन्–‘म निवेदक पार्टीको अनुशासन समितिको वैधानिक अध्यक्ष रहेको, विधानले तोकेको पदावधि र कार्यकाल बाँकी नै रहेको र म स्वयंले पार्टीको विधान विपरीतको कुनै कार्य नगरी पार्टीको वरिष्ठ नेता एवं केन्द्रीय सदस्यको पदमा यथावत् नै रहेको र केन्द्रीय सदस्यको हैसियतबाटै अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई विधान अनुसारको पदीय जिम्मेवारी निर्वाह गरी आएको अवस्था हुँदा मलाई अनुशासन समितिको अध्यक्षबाट हटाउने, मेरो स्थानमा अर्को व्यक्तिलाई तोक्ने समेतका काम कारबाही निर्णय पार्टीको विधान विपरीत रहेकोले यस सम्बन्धमा पार्टीका अध्यक्षज्यूबाट तत्काल लिखित प्रतिक्रिया लिई विधान विपरीत हटाउने र पदपूर्ति गर्ने लगायतका काम कारबाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गरी पाउन सादर अनुरोध गर्दछु ।’

यसैबीच, राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका सुवेदीले न्याय माग्नका लागि आफू निर्वाचन आयोग आएको बताएका छन् ।
राजेन्द्र लिङ्देन इतरका गुटका नेताहरूलाई दायाँबायाँ लगाएर आइतबार उनी आयोगमा उजुरी दिनका लागि पुगेका थिए ।

आयोगमा उनीसँगै निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, प्रवक्ताबाट निकालिएका सगुन लावती, महामन्त्री कुन्ती शाही, उपाध्यक्ष विक्रम पाण्डेलगायत गुटका दर्जनौँ नेताहरू पुगेका हुन् ।

उजुरी दिएसँगै बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सुवेदीले पार्टीभित्र आफूप्रति अन्याय भएकाले आयोगमा औपचारिक उजुरी दिएको बताए । पदबाट हटाइएकोबारे आफूलाई जानकारी नदिइएको उल्लेख गर्दै उनले आफूले सबै विषय सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए ।

सुवेदीले भने–‘हटाउनुअघि मलाई केही सोधिएको छैन, चिठी लेखिएको पनि छैन । ‘उहाँ (राजेन्द्र लिङ्देन)ले मलाई निकालेर अर्को मान्छे ल्याउनु भएको रहेछ भन्ने कुरा मिडियाबाट मात्र थाहा पाएँ। त्यसैले म आयोगमा उजुरी दिन आएको हुँ ।’ उनले भने ।

सुवेदीले पार्टीभित्र अनेक षड्यन्त्र भइरहेको दाबी गर्दै आफूले त्यसविरुद्ध आवाज उठाएको बताए। उनले भने–‘म त पार्टीमा अन्याय हुन लाग्यो भनेर त्यसको विरोध स्वरूप आएको हुँ । पार्टी फुटोस् भन्ने चाहना होइन, षड्यन्त्र नहोस् भन्ने चाहना हो।’

उनले आफूले संयुक्त जनआन्दोलन समिति घोषणा हुँदा राप्रपा परित्याग गरिसकेको भनेर कहीँकतै नभएको दाबी गरे । उनले त्यतिबेलाको आफ्नो अभिव्यक्तिको केही अंश काटछाँट गरेर प्रचार गरिएको आरोप समेत लगाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077