काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।
‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं’, सांसद श्रेष्ठले भनिन्–‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर ।’
मानव तस्करीको जालो ठुलो रहेको उल्लेख गर्दै उनले उच्चस्तरीय छानबिन न्यायिक आयोग बन्नुपर्ने बताउँदै उनले बिचौलियाहरू किन डराइरहेका छैनन् भन्ने प्रश्न समेत गरिन् ।
उनले भनिन्–‘सबैभन्दा दुखको कुरा चाहीँ– सदनमा आन्दोलन भइरहेका बेला पनि बिचौलियाहरूलाई न डर न भय न संकोच । कसको अकरमन्यताले गर्दा यस्तो आँट मानव तस्कर र स्मग्लरहरूमा पलाएको हो ? सदनको गरिमा त निलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला सभामुख महोदय । देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’