काठमाडौं । आउँदो कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना सम्भावित उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
जिल्ला कार्यसम्पादन समितिको आइतबार सम्पन्न बैठकले छ जनाको नाम सिफारिस गर्दै केन्द्रीय कार्यसम्पादन समितिमा पठाएको हो ।
पार्टीका जिल्ला प्रवक्ता दिलीपकुमार मल्लिकका अनुसार सिफारिस सूचीमा जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य इञ्जिनियर प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र स्वयं प्रवक्ता मल्लिकको नाम छन् ।
राप्रपाले यसअघि असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला समितिलाई निर्देशन दिएको थियो । यही सन्दर्भमा रुपन्देहीका स्थानिय नेताहरूको नाम सिफारिस गरिएको बताइएको छ ।
२०७९ सालको निर्वाचनमा दिवंगत नेता दीपक बोहराले राप्रपाबाट रुपन्देही–३ मा ऐतिहासिक जित हासिल गरेका थिए ।
गत चैतमा बोहराको असामयिक निधनपछि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन मिति आगामी कात्तिक १७ गते तोकेको हो ।
अब सिफारिस भएका नामहरूमध्येबाट अन्तिम उम्मेदवार छान्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ ।