काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अडिओ प्रकरणमा मुछिएका दुई मन्त्रीमाथि कारबाहीको माग गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कानूनी शासनको मर्यादा कायम राख्न प्रधानमन्त्रीले यथाशीघ्र कदम चाल्नुपर्ने बताएका हुन् ।
“मन्त्रीको अडिओ काण्ड आइसकेपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई हटाउने हो, छानबिन गर्ने हो, र दोषी देखिए कारबाही गर्ने हो। यही प्रक्रियाले मात्र राज्यप्रति जनताको विश्वास कायम रहन्छ,” थापाले भने ।
उनले कानूनी शासनको सिद्धान्त सबैका लागि बराबर रुपमा लागू हुनुपर्नेमा जोड दिँदै थपे, “हामी सबैले मिलेर बनाएको कानूनी प्रक्रिया हो — त्यसभन्दा कोही माथि छैन। न सडकबाट हल्ला गरेर, न लोकप्रियताबाट, न सत्ताको शक्तिबाट।”
आफू कांग्रेसको महामन्त्री भएकाले कानूनी उत्तरदायित्वबाट उन्मुक्ति खोज्ने पक्षमा आफू नरहेको पनि उनले स्पष्ट पारे। “कसैले कांग्रेस भएकाले कानून उल्लंघन गरे पनि उम्कनुपर्छ भन्ने म मान्दिनँ,” थापाले दृढ स्वरमा भने।
उनले थपे, “यदि मैले सार्वजनिक जिम्मेवारी लिएर गल्ती गरेको छु भने त्योबेला तपाईंहरूले मेरो पक्षमा चुइँक्क पनि बोल्नुहुन्न।”
हालै सार्वजनिक भएको अडिओमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र कृषि तथा सहकारीमन्त्री रामनाथ अधिकारी घुस डिलमा संलग्न भएको आशंका गरिएको छ ।
मन्त्री गुप्ताले अडिओ आफूले नै बोलेको स्वीकार गरिसकेका छन्, तर प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म कुनै निर्णायक कदम नचालेको विषयमा थापाले आलोचना गरेका हुन् ।