दार्चुला । तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।
दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जाने क्रममा बुढाथोकी तुइन चुँडिदा नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न लागेका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरेका थिए ।
त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा नारायण बेपत्ता भएका प्रहरीले जनाएको छ । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेका छन् ।