काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गत आर्थिक वर्ष २०८१/०८२ मा गरेको सम्पादन गरेका कामहरुको बारेमा जानकारी गराएको छ ।
परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा परिसर प्रमुख एसएसपी विश्व अधिकारीले गत आर्थिक वर्षमा सम्पन्न भएका काम कारबाहीका बारेमा जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा एसएसपी अधिकारीले मानवस्रोत तथा स्रोत साधन व्यवस्थापन, प्रहरी कार्य शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान र नविनतम् प्रयासहरूका बारेमा जानकारी गराएका थिए ।
काठमाडौं प्रहरीका १२९ वटा कार्यालयहरुमध्ये १४ वटा मात्रै पूर्ण स्वामित्वमा रहेको एसएसपी अधिकारीले बताए । ‘काठमाडौं प्रहरीसँग जग्गा नभएको तर भवन भएको २० वटा, भाडामा लिइएका ८ वटा, सरकारी प्रति जग्गामा ६० वटा कार्यालय र कुनै पनि तरिकाबाट म्यानेज भएका अन्य कार्यालयहरुबाट समुदायमा सेवा प्रवाह भइरहेको छ ।’–एसएसपी अधिकारीले भने ।

आफ्नै भवन तथा जग्गा दुबै भएका प्रहरी इकाइहरु १४ वटा, जग्गा नभएको तर आफ्नै भवन भएका प्रहरी इकाईहरू २० वटा, भाडामा रहेका प्रहरी इकाईहरू ८ वटा, प्रतिरसरकारी जग्गामा भवन टहरा बनाई बसेका इकाइहरु ६० वटा, संघ संस्थाको जग्गामा बसेको ११ वटा, स्थानीय निकायको भवनमा रहेको ४ वटा, गुठीको भवनमा बसेको ५ वटा, क्लबको भवनमा २ वटा र पशुपति विकास कोषको भवनमा ५ वटा गरी काठमाडौं प्रहरीका १२९ वटा कार्यालयहरुबाट कार्य सम्पादन भइरहेको एसएसपी अधिकारीले बताए ।
काठमाडौंमा जिल्लाका लागि चार हजार १६ जना प्रहरी जनशक्तिको दरबन्दी भएपनि हाल तीन हजार २३३ जना मात्रै कार्यरत रहेका छन् । जसमा ४०९ जना महिला कर्मचारी रहेका छन् ।
काठमाडौं प्रहरीले गत आर्थिक वर्षमा राम्रो काम गरेका ६८१ जना प्रहरीलाई पुरस्कृत गरेको छ भने १५८ जनालाई कारबाही गरेको छ । काठमाडौं प्रहरीमा रहेका जनशक्तिमध्ये गत आर्थिक वर्षमा १७८ जनाले राजिनामा दिएका छन् भने १८ जना अनिवार्य अवकाशमा गएका छन् ।
स्थापनाकालमा ४६ वटा सिआरभी रहेकोमा अहिले भने त्यो घटेर ३८ वटा सिआरभी सवारी साधन मात्र सञ्चालनमा रहेको एसएसपी अधिकारीले बताए ।
यद्यपी काठमाडौं प्रहरीले दैनिक रुपमा शान्ति सुरक्षर्थ प्रहरी परिचालन गर्दै आएको छ । जसमा मोवाइल/सिआरभी, मोटरसाइकल गस्ती, पैदल गस्ती, प्रहरी चेकिङ, पिकेट र अनगमनमा गरेर दुई हजार पाँच सय २१ जना प्रहरी जनशक्ति परिचालन गर्दै आएको छ ।
काठमाडौं प्रहरीमा गत आर्थिक वर्षमा चार लाख २८ हजार ९६ कल फोन आएको रेकर्ड प्रहरीसँग छ । जसमा सबैभन्दा बढी झगडाको २९ हजार १४८ र सबैभन्दा कम लागूऔषधको १ हजार १९२ कल फोन आएका थिए ।
जसमा ४२ प्रतिशत भन्दा माथि पाँच मिनेट भित्र प्रहरीले रेस्पान्स गरिसकेको एसएसपी अधिकारीले बताए ।
गत आर्थिक वर्षमा काठमाडौंमा दुई हजार ७२२ वटा आगलागिका घटना भएको पनि प्रहरीको तथ्यांकमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा एसएसपी अधिकारीले विपद् व्यवस्थापनका लागि काठमाडौं प्रहरीले उल्लेख्य काम गरेको बताए । विपद् उद्दार सामग्रिको समेत व्यवस्थापन भएको उनले बताए ।
विपद् व्यवस्थापनका लागि हाल काठमाडौं प्रहरीले लाईफ ज्याकेट ४६८ वटा, थ्रो व्याग २१ वटा, रबर बोट ४ वटा, ट्युव ६५ वटा , स्ट्रेचर ७१ वटा, डोरी तीन हजार ६३० मिटरलगायतका सामानहरुको बन्दोबस्त गरेको छ ।
एसएसपी अधिकारीकै पहलमा काठमाडौं प्रहरीले अर्को उल्लेखनिय काम विपद् हेल्पलाईन डायरी प्रकाशन गरेको छ ।
जसमा जिल्ला विपद् व्यवस्थापन समिति, हटलाईन, स्थानीय तह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल, एम्बुलेन्स, हेवी इक्विपमेन्ट, स्वास्थ्य, अस्पताल, रेडक्रस, विद्युत, खानेपानी, बोरिङ, दोभाषेलगायतलाई सम्पर्क गर्र्न सकिने नम्बरहरु उपलब्ध रहेका छन् ।
गत आर्थिक वर्षमा काठमाडौं प्रहरीमा १२ हजार ९१५ वटा मुद्दा दर्ता भएका छन् भने ८ हजार ५२० जना पक्राउ परेका छन् । तिमध्यै सबैभन्दा बढी महाराजगञ्ज बृत्तमा दुई हजार १८ र सबैभन्दा कम दरबारमार्गमा २१० वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरमा छ हजार ५५३ र सबैभन्दा कम सवारी अंगभंगमा ७४ वटा दर्ता भएका छन् ।पत्रकार सम्मेलनमा एसएसपी अधिकारीले आर्थिक अपराध डरलाग्दो भएको बताए । उनले भने-‘पैसा कुनै कारोबारमा जोडियो भने चार पटक समेत सोचेर कारोबार गर्नुपर्ने अवस्था छ। अहिले आर्थिक अपराध एकदमै हाबी भएको छ ।
हुण्डी कारोबारमा मुद्दा दर्ता हुने सङ्ख्या पनि बढेको देखिएको छ। अघिल्लो आवका तुलनामा १० वटा मुद्दा बढी दर्ता भएका हुन्। आव २०८१/८२ मा १८ वटा हुन्डी सम्बन्धि मुद्दा दायर भएका छन्। जसमा प्रहरीले ६ करोड ८५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ

गत आर्थिक वर्षमा काठमाडौं प्रहरीले उल्लेख्य मात्रामा अवैध लागूऔषध बरामद गरेको छ । नौ सय एक केजी गाँजा बरामद गरेको प्रहरीले एक लाख ७३ हजार ३६१ वटा ट्रामाडोल (ट्याबलेट) बरामद गरेको छ । जसमा एसएसपी आफै पनि खटिएका थिए ।
तीन वर्षमा कति बरामद भए लागूऔषध ?

गत आर्थिक वर्षमा पाँच हजार ५८५ वटा मुद्दाको फैसला भएको छ भने त्यसबाट २४ करोड २० लाख ९४ हजार ८५९ रूपैयाँ जरिवाना प्राप्त भएको छ । विभिन्न अपराधमा संलग्न ५ हजार ५१२ जना व्यक्ति काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीले अवैध हुण्डी हुण्डी वापतको करोडौ रकम समेत बरामद गरेको छ । गत आर्थिक वर्षमा मात्रै प्रहरीले छ करोड ८५ लाख ५० हजार १०६ रूपैयाँ बरामद गरेको एसएसपी अधिकारीले बताए । गत वर्ष १२ करोड ७५ लाख ८ हजार ८२८ रूपैयाँ राजश्व दाखिला भएको पनि उनले बताए ।
काठमाडौं प्रहरीले भद्रकालीस्थित नयाँ भवनबाट नविनतम प्रयास स्वरुप नागरिक सहजताको लागि डिजिटल इन्ट्री सिस्टम सहितको नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
पुस्तकालयको समेत व्यवस्थापन गरेको काठामडौं प्रहरीले नविनतम प्रयास स्वरुप प्रहरी कर्मचारीको लागि पुलिस डिजिटल डायरी कार्यान्वयनमा ल्याएको छ । जसमा कुन प्रहरी कर्मचारीले दैनिक रुपमा के–के काम सम्पन्न गरेका छन् भन्ने बारेमा जानकारी लिन सकिन्छ ।
काठमाडौं प्रहरीले प्रहरी बिटको स्तरोन्नती योजना पनि अघि सारेको छ । जसमा ७३ वटा बिट स्थलगत रूपमा निरीक्षण गरी न्यूनतम स्तर कायम गर्ने योजना अगाडी बढाईएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यस्तो छ जिल्ला प्रहरी परिसर, काठमाडौं वार्षिक कार्ययोजना