काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।
उनीहरू पटके कसुरदार भएकाले अदालतमा मुद्दा दर्ता गरिएको हो । उनीहरूको मुद्दा न्यायाधीश खिमानन्द भुसालको इजलामा परेको छ ।
साउन १५ गते राति काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटल क्षेत्रमा ठूलो समूह भेला भई होहल्ला गरेको आरोपमा चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरिएको थियो ।
तीमध्ये २८ जनालाई रिहा गरिएको छ भने बाँकी १९ जनामाथि अनुसन्धान जारी छ।
अनुसन्धानमा रहेका अन्य व्यक्तिहरूमध्ये गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सडक छेउमै भेला भएर केक काट्ने, महाराजगन्ज क्षेत्रमा ठूलो आवाजमा होहल्ला गर्ने र शान्ति सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न थिए ।