काठमाडौं । नेपाल प्रहरीको ठेक्कामा मिलेमतो प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गठन गरेको छानविन समितिको म्याद ४ दिन थप भएको छ । एक साताभित्र प्रतिवेदन दिन नसकेपछि बिहीबार म्याद थप भएको हो ।
नेपाल प्रहरीको करिब डेढ अर्ब रुपैयाँ बराबरको ठेक्कामा २/३ जना ठेकदार बाहेक अरुले प्रतिस्पर्धा नै गर्न नमिल्नेगरी सेटिङ गरिएको विषयमा कार्यालयले गत साता उपसचिव विनोद कुमार कोइरालाको अध्यक्षतामा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि यस प्रकरणमा छानविन समिति गठन भएको थियो । छानविन समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लागेको छ भने छानविनमा ढिलाई भएकोमा पनि प्रश्न उठिरहेको छ ।
छानविनको क्रममा प्रष्ट रुपमा मिलेमतो देखिएपनि प्रतिवेदन तयार गर्न ढिलाई भएको हो । सेटिङमा संलग्न ठेकदारहरु छानविनलाई प्रभावमा पार्ने प्रयासमा छन् ।
[insert page='361921' display='yopanipadhnuhos.php']
सो छानविन प्रभावित पार्न प्रहरीको प्रबन्ध शाखामा सेटिङ मिलाउने ठेकदारहरु ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बिसी तथा श्रवण अग्रवालले दौडधुप गरिरहेका छन् । उनीहरुको दौडधुप चलिरहेको बेला छानविन प्रतिवेदन लम्बिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक रुपमा छानविन गर्दा ठेक्कामा मिलेमतो देखिएको भन्दै विस्तृत छानविन गर्न खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको थियो । छानविन गरेर त्यस विषयमा जानकारी दिन समेत अख्तियारले भनेको छ ।
कपडा लगायत सामानको बोलपत्रमा पछिल्लो तीन वर्षमा करोडौंका सामान कम्तीमा दुई पटक आपुर्ति गरेको हुनुपर्ने प्रावधान राखिएको छ । यसरी एकै वर्षमा प्रहरीमा मात्र करोडौंको जुत्ता र कपडा आपुर्ति हुन्छ । पछिल्लो चार वर्षयता ज्ञानेन्द्र, टोपेन्द्र र श्रवणको समूहले मात्र प्रहरीमा सामान आपुर्ति गर्दै आएका छन् ।
जसअनुसार प्रहरीको सबै ठेक्का यसपटक पनि एकलौटी रुपमा हात पार्ने उनीहरुको योजना छ । लागत अनुमानबराबरकै मूल्य राखेर यसमा करोडौंको कमिसन चलखेल हुन लागेको छ ।
जबकी बोलपत्रमा प्रतिस्पर्धालाई सिमित बनाउनु पनि भ्रष्टाचार भएको उल्लेख छ । जसकारण अख्तियारले यसमा छानविन थालेपछि प्रबन्ध शाखाका प्रहरी पनि तनावमा छन् ।
प्रहरीको अहिलेको करिव डेढ अर्बको ठेक्कामा ५० करोड घोटाला हुन लागेको तथ्यसहित उजुरी परेपछि अख्तियारले गम्भीर रुपमा चासो राखेको हो ।
राम्रोसँग छानविन भएमा प्रवन्धका अधिकारीहरु र बस्नेतलगायतका ठेकेदारहरु अख्तियारको फन्दामा पर्ने निश्चित छ ।