काठमाडौं । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
आज जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो।
सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेको थियो । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो । आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो ।
चक्रे बुधरबार मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए । अभद्र व्यवहारको कसुरमा उनी ३० हजार धरौटी तिरेर रिहा भएका थिए।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा जन्मदिन मनाउँदा महाराजगञ्ज स्थित साम्बाला होटलबाट चक्रेसहित ४७ जना पक्राउ परेका थिए । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।