धरान । गत बुधबार सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघि फरार भएका कैदी झापाबाट पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार खोटाङको दिप्रुङचुचुमा गाउँपालिका-२ घर भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका रुपक पौडेललाई झापाको बिर्तामोड पक्राउ गरिएको हो ।
फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१० बिराटपोखरबाट लुकेर बसिरहेको अवस्थामा शनिबार बिहान ६ बजे पक्राउ गर्न सफल भएको बताइएको छ ।
कैदी रुपक पौडेललाई जिल्ला अदालत सुनसरीबाट जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद, ५ लाख जरिवाना र ३० हजार रुपैया क्षतिपूर्ति सजायको फैसला गरेको थियो ।