काठमाडौं । कैलाली कारागारमा भएको हिंसात्मक घटनापछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगन बहादुर हमाल तानिए पनि जिल्ला प्रहरी प्रमुख (एसपी) बालनरसिंह राणा अझै जिम्मेवारीमा कायम रहेका छन् ।
कारागारमा कैदीबन्दीबीच भएको झडप र नियन्त्रणमा देखिएको कमजोरीका कारण प्रशासनिक संयन्त्रको चर्को आलोचना भएपछि सिडिओ हमाललाई तत्काल सरुवा गरिएको हो ।
तर, सुरक्षा व्यवस्थाको प्रत्यक्ष जिम्मेवारीमा रहेका एसपी राणा भने पदमा यथावत् रहनु निष्पक्षतामाथि प्रश्न उठिरहेको आरोप छ ।
घटनापछि कारागारको सुरक्षा अभाव, प्रहरी प्रशासनको उदासीनता र आन्तरिक समन्वयको कमजोरीबारे कडा आलोचना भइरहेका छन् । सरुवा र कारबाहीको दबाब बढ्दाबढ्दै पनि प्रहरी नेतृत्व सुरक्षित रहनुमा प्रश्न उब्जिएको छ ।
[insert page='360929' display='yopanipadhnuhos.php']
यता मानव अधिकार आयोग, सुदूरपश्चिमले पनि कारागारको सुरक्षामा गम्भीर त्रुटी भएको निष्कर्ष निकालेको थियो । केही दिन अघि मात्रै एसपीलाई प्रहरी प्रधान कार्यालय तानिने भन्दै विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएका थिए ।
तर घटना भएको एक हप्ताभन्दा बढी हुँदा पनि दबाबका कारण कारागारको सुरक्षामा चुकेका एसपी राणाको सरुवा हुन नसकेको स्रोत बताउँछ । लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका धनगढी–४ का भरत चौधरीको कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा मृत्यु भएको थियो ।
कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि साङ्घातिक आक्रमण गरेका थिए ।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा समेत पाँच सदस्यीय समिति गठन गरिएको छ ।
समितिलाई १० दिनको समय दिइएको छ । यता जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवारले जाहेरी पनि दिएका छन् । उक्त जाहेरी दर्ता भएर अनुसन्धान अघि बढिसकेको छ ।