एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा शहर कब्जा गर्ने सैन्य योजनालाई औपचारिक अनुमोदन गरेका छन् ।
यसका लागि उनले करिब ६० हजार अतिरिक्त रिजर्भ फोर्सलाई ड्युटीमा बोलाउने आदेश दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यो निर्णयसँगै गाजा कब्जा अभियानमा संलग्न हुने सैनिक संख्या करिब १ लाख ३० हजार पुग्नेछ । योजना अनुसार, सैनिकहरूलाई ड्युटीमा सामेल हुनुभन्दा कम्तीमा दुई साताअघि नै सूचना दिइनेछ ।
प्राप्त जानकारीअनुसार, पहिलो चरणमा सेप्टेम्बर २ का दिन करिब ४०–५० हजार सैनिक बोलाइनेछ । दोस्रो चरणमा नोभेम्बर–डिसेम्बर बीच थप सैनिक परिचालन गरिनेछ । अन्तिम चरणमा भने २०२६ को फेब्रुअरी–मार्च तिर बाँकी फौज बोलाइनेछ ।
इजरायली सेनाको यो तयारीसँगै गाजा शहरमा बसोबास गर्दै आएका लाखौँ प्यालेस्टिनीहरूलाई खाली गराइने र उनीहरूलाई दक्षिणी गाजामा निर्माण गरिएको अस्थायी आश्रयस्थलमा सारिने अनुमान गरिएको छ ।
मानव अधिकार समूहहरूले गाजामा मानवीय संकट बढ्न सक्ने चेतावनी दिँदै आएको समयमा सेनाको तर्फबाट यस्तो घोषणा आएको छ ।
एक इजरायली सैन्य अधिकारीका अनुसार लडाइँको नयाँ चरणमा ‘गाजा सहर र वरपर क्रमिक रूपमा सटिक र लक्षित अपरेसन’ समावेश हुनेछन्, जसमा सेनाले पहिले सञ्चालन नगरेका केही क्षेत्रहरू समावेश गर्ने छन् । अधिकारीले भने, ‘सेनाले प्रारम्भिक चरणमा जेइटुन र जबालियाको छिमेकमा उक्त अपरेशन सञ्चालन सुरु गरिसकेको छ ।’