कैलाली । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ ।
उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए ।
“घटनास्थलको अध्ययन गरी घाइते कैदीबन्दी, कारागारको वस्तुस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, प्रशासकसँग कुराकानी गर्यौँ,” उनले भने, “बन्दीगृहभित्र रहेको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको आन्तरिक प्रशासनबीच मतभेद सिर्जना भएको देखिन्छ ।”
घटनाको थप तथ्य बाहिर ल्याउन विशेषज्ञसहितको उच्चस्तरीय छानबिनको आवश्यकता देखिएको जोशीको भनाइ छ । “घटनास्थलको अध्ययनका क्रममा सीसीटीभी फुटेज स्पष्ट देखिएन, घाइतेले भने बमोजिमका व्यक्तिले घटनामा संलग्नता अस्वीकार गरेको र उनीहरूसँगको कुराकानीका आधारले मात्रै पुष्टि हुने आधार नदेखिएकाले विशेषज्ञसहितको उच्चस्तरीय समिति आवश्यक देखिएको छ,” उनले भने ।
समितिलाई १० दिनको समय दिइएकामा अध्ययन प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको छ । गत साउन २३ गते कारागारमा कैदीबन्दीबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । ४९ कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते तीनजनाको काठमाडौंमा अझै उपचार भइरहेको छ ।